प्रश्नः सांस्कृतिक विविधताको अवधारणा, यसको बहुआयामिकता र विकासमा मूल प्रवाहीकरण गर्ने उपाय उल्लेख गर्नुहोस् ।
सांस्कृतिक विविधताको परिभाषा
सांस्कृतिक विविधताको विश्वव्यापी घोषणाअनुसार समाज वा समाजको सदस्यका रूपमा व्यक्तिमा निहित ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथा, परम्परा, क्षमता र व्यवहारको अभ्यासको जटिल एवं समष्टिगत रूप Complex whole) नै संस्कृति हो । विविध र फरक संस्कृतिको उपस्थिति र सह–अस्तित्व सांस्कृतिक विविधता हो । व्यक्ति र समाजको व्यवहारको गतिशीलता, समान आकांक्षा र फरक–फरक दृष्टिकोणको व्यवस्थापन गर्ने क्षमतालाई सांस्कृतिक विविधता भनेर युनेस्कोले परिभाषित गरेको पाइन्छ ।
विविध भाषा, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाडपर्व वा संस्कारको अस्तित्व, स्वीकारोक्ति, मान्यता एवं सम्मानको अवस्था हो, सांस्कृतिक विविधता । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । नेपालको संविधानको धारा ३ मा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको कुरा उल्लेख गरी संविधानले नै बहुसांस्कृतिक पक्षलाई अवलम्बन गरेको देखिन्छ ।
बहुआयामिक पक्ष
प्राकृतिक सन्तुलनका लागि जैविक विविधता भनेजस्तै आर्थिक सामाजिक विकासको इकोसिस्टम सञ्चालन र विकासमा सांस्कृतिक विविधताको महत्व रहेको हुन्छ । सांस्कृतिक विविधता व्यक्ति र समाजको भावना, चेतना र व्यवहारसँग सम्बन्धित हुने हुनाले डेमोक्य्राटिक गभर्नेन्समा विविधताको व्यवस्थापन अभिन्न अंग बन्न पुगेको छ । बहुआयामिक पक्षसँग सम्बन्धित अवधारणा पनि हो, सांस्कृतिक विविधता । यो अवधारणा निम्नबमोजिम विविध पक्षसँग सम्बन्धित हुन्छ :
- सामाजिक मूल्य–मान्यतामा रहेको व्यापक विविधीकरण,
- जीवनपद्धति, सामाजिक प्रतिनिधित्व,
- मूल्य प्रणाली, आचारसंहिता,
- अन्तरपुस्ता सम्बन्ध,
- भाषिक विविधता, कलात्मक पक्ष,
- शासकीय स्वरूप र स्वभाव,
- सामाजिक बहिष्करण र समावेशीकरणको राजनीतिक मुद्दा ।
यी विविध पक्षसँगको अन्तरसम्बन्धका कारण सांस्कृतिक विविधता राजनीतिक र विकासको समेत मुद्दाका रूपमा रहेको पाइन्छ ।
विकासमा सांस्कृतिक विविधताको मूल प्रवाहीकरण
व्यक्ति र समाजको पहिचान र आकांक्षासँग प्रत्यक्ष सम्बन्ध हुने हुनाले सांस्कृतिक विविधता आर्थिक सामाजिक विकासको साध्य र साधन दुवै हुन सक्छ । समाजको शक्ति वा क्षमता भन्नु नै विविधता वा सांस्कृतिक स्वभाव र क्षमतामा निर्भर हुने र सो क्षमताले आर्थिक सामाजिक विकासमा प्रभाव पार्ने हुनाले समाजको सांस्कृतिक पक्षको विकासमा मूल प्रवाहीकरण जरुरी हुन्छ । सांस्कृतिक विविधता र यसको सामुदायिक शक्ति विकासका देहायबमोजिमका आधारभूत उद्देश्यसँग एकाकार हुने गर्छ :
- सामुदायिक विकासमा व्यक्तिको क्षमता र सम्भावनाको सम्मान,
- व्यक्ति नै विकासको मुख्य विषय,
- भौतिक र भावनात्मक आवश्यकता परिपूर्ति,
- मानव–अधिकार एवं समानता र अविभेदको सिद्धान्तको सम्मान,
- पूर्ण सहभागिताको अवसर,
- व्यक्तिगत र सामूहिक स्वाभिमानको मात्रा ।
उल्लिखित आधारभूत तत्वहरू विकास र संस्कृति दुवैका साझा मान्यता हुन् । यसर्थ विकासको योजना तथा कार्यक्रम तर्जुमा गर्दा सांस्कृतिक विविधताको लेन्सले हेरिनुपर्छ । सांस्कृतिक विविधताको सम्मान गर्दै सांस्कृतिक पक्षलाई विकासमा मूल प्रवाहीकरण गर्न र सोहीबमोजिम विकास योजना र कार्यक्रम तय गर्दा निम्नबमोजिम विषय सुनिश्चित गर्नुपर्छ :
- सामाजिक, आर्थिक, राजनीतिक र कानुनी पृष्ठभूमिको अध्ययन र बुझाइ,
- सर्वव्यापी पहुँच र समावेशीकरणको सुनिश्चितता,
- व्यापक जनसहभागिता,
- मातृभाषामा विशेष जोड दिँदै भाषिक विविधताको संरक्षण,
- सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण,
- सांस्कृतिक उद्योग वस्तु र सेवाको प्रवद्र्धन,
- अन्तरसंस्कृति संवाद र सांस्कृतिक
- बहुलवादको प्रवर्द्धन,
- आधुनिक विज्ञान र परम्परागत ज्ञानबीच अन्तरक्रिया ,
- सहयोग र समन्वय ।
दिगो विकासको अवधारणा कार्यान्वयन गर्ने क्रममा पनि सांस्कृतिक विविधताका पक्षको उचित सम्बोधन गरिनुपर्छ । विकासको व्यापक परिभाषाभित्र नपर्ने कुनै तत्व नै छैन होला । त्यसमा पनि सांस्कृतिक पक्ष, जसले व्यक्ति र समाजमा गहिरो र छुट्याउनै नसकिने गरी जरा गाडेको हुन्छ, त्यो पक्षलाई विकासको समग्र प्रक्रियामा समाहित नगरी अपेक्षित गुणस्तरको समृद्धि हासिल गर्न सकिँदैन ।
विकास योजना तर्जुमा र कार्यान्वयनमा माथि उल्लिखित पक्षको उचित सम्बोधन गरी सांस्कृतिक पक्षको मूल प्रवाहीकरण गर्न सकिन्छ । यसबाट मात्र विकासको मूल्य नै संस्कृति हो र संस्कृति नै विकासको साधन पनि हो भन्ने यथार्थ व्यवहारमा उतार्न सम्भव हुन्छ ।
0 Comments