प्रश्नः अवैध मुद्रा निर्मलीकरण भनेको के हो ? नेपालले यस सम्बन्धमा गरेका व्यवस्था उल्लेख गर्नुहोस् । (१०)
गैरकानुनी सम्पत्तिको शुद्धिकरणको प्रयास
अवैध सम्पत्तिलाई वैध गराउने गैरकानुनी अपराध नै अवैध मुद्रा निर्मलीकरण हो । यसलाई सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणजस्ता नामले बुझिन्छ । यो मुद्राको अवैध स्रोतलाई लुकाउने, छिपाउने वा आधिकारिक स्रोतका रूपमा परिणत गर्ने संगठित अपराधको स्वरूप हो ।
राजस्व छली, संगठित अपराध, आतंकवादी क्रियाकलापमा लगानी, हातहतियार, खरखजाना, अवैध विदेशी विनियम, लागूऔषध व्यापार, प्राचीन स्मारक बेचबिखनजस्ता कार्य गरी आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास मुद्रा निर्मलीकरण हो । प्रचलित कानुनविपरीतको कसुर गरी सम्पत्ति लुकाउने, छिपाउने, लगानी गर्ने वा हस्तान्तरण गर्ने कार्यलाई नेपालमा अवैध मुद्रा निर्मलीकरण मानिन्छ ।
सम्पत्ति शुद्धीकरणमा विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत राज्य संयन्त्रको दुरुपयोग गरेको पाइन्छ । निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्ता अपराधले राज्यको समग्र कानुनी वित्तीय र सुरक्षा प्रणालीलाई नै कमजोर बनाएको हुन्छ । यसबाट अपराधीलाई नै थप शक्तिशाली बन्न मद्दत पुग्छ ।
अवैध मुद्रा निर्मलीकरणका सम्बन्धमा नेपालले गरेका व्यवस्था
संवैधानिक व्यवस्था
- प्रस्तावनामा कानुनी राज्यको अवधारणा उल्लेख भएको,
- दिगो शान्ति, सुशासन, विकास र समृद्धिको
- आकांक्षा रहेको,
- राज्यको नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको व्यवस्था भएको,
- न्याय र दण्ड व्यवस्थासम्बन्धी नीतिको व्यवस्था रहेको,
- संसद्मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति रहेको,
कानुनी व्यवस्था
- सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र नियमावली, २०६६ जारी,
- सरकारी मुद्रासम्बन्धी ऐन, २०४९ र नियमावली, २०५५ रहेको,
- सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ जारी,
- सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई निर्देशन, २०७४,
- सम्पत्ति शुद्धीकरण रणनीति तथा कार्ययोजना, २०६८ जारी ।
संस्थागत व्यवस्था
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,
- अर्थसचिवको संयोजकत्वमा एन्टी मनी लाउन्डरिङ समन्वय समिति,
- डेपुटी गभर्नरको संयोजकत्वमा कार्यान्वयन समिति,
- नेपाल राष्ट्रबैंकमा वित्तीय जानकारी एकाई,
- सहकारी विभागमा सम्पत्ति शुद्धीकरण एकाई गठन,
- प्राविधिक उपसमिति गठन आदि,
यसरी सम्पत्ति शुद्धीकरण वा अवैध मुद्रा निर्मलीकरण कार्यले मुलुकको वित्तीय प्रणालीको स्वरूप, अस्तित्व तथा विकासमा नकारात्मक असर पु¥याउँछ । यसको प्रभावकारी नियन्त्रणमार्फत मुलुकमा स्थिरता, स्थायित्व र समुन्नति कायम गर्नु आजको आवश्यकता हो । यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासो र महत्वको विषयसमेत हो ।
प्रश्नः नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदम के–के हुन सक्छन् ? उल्लेख गर्नुहोस् । (५)
पर्यटनका लागि सँगसँगैघुमफिर, मनोरञ्जन तथा अन्य प्रयोजनार्थ आउने स्वदेशी तथा विदेशी पाहुना वा पर्यटकलाई यथोचित बसोबास, खानपानलगायत अन्य कुराको व्यवस्थापन गर्ने कार्यलाई पर्यटन भनिन्छ । पर्यटन एक व्यवसाय, उद्योग र आर्थिक क्रियाकलाप पनि हो । अतुलनीय प्राकृतिक र सांस्कृतिक अनुपमताले युक्त नेपालमा पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा लिइएको भए पनि यसबाट अपेक्षित लाभ लिन भने नसकेको अवस्था छ ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदम,
- पर्यटकीय सुरक्षा र संकट व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने,
- नियमित र भरपर्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्जालको विकासको व्यवस्था गर्ने,
- पर्यटन क्षेत्रको विकासमा सरकारी तथा निजी क्षेत्रको भूमिकालाई सबलीकरण गर्ने,
- दक्ष, सक्षम मानव संशाधनको विकास गर्ने,
- नियमित र भरपर्दो ऊर्जा आपूर्तिको व्यवस्था गर्ने,
- नयाँ पर्यटकीय स्थलको पहिचान र विकास गर्ने,
- पर्यटकीय वस्तुको विविधीकरण र व्यावसायिकीकरणमा जोड दिने,
- पर्यटकलाई सहुलियत सुविधा र प्याकेजको विस्तार गर्ने,
- आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने,
- कानुनी, प्रशासनिक, संस्थागत तथा व्यवस्थापकीय सुधारमा जोड दिने,
- सूचना प्रविधि तथा तथ्यांकहरूको प्रयोग र पूर्वाधार बढाउने,
- समन्वय, अनुगमन र मूल्यांकनमा जोड दिने,
- अन्तर्राष्ट्रिय जगत्मा नेपालको ब्रान्डिङ गर्ने ।
अन्त्यमा
पर्यटन व्यवसाय नेपालको सन्दर्भमा आर्थिक विकास हासिल गर्ने प्रमुख माध्यम हो। सबै क्षेत्रको पहल र प्रयासबाट नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य मुलुकको रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।
0 Comments