Advertisement

कर्मचारीतन्त्र र उत्तरदायित्व

प्रश्न. नेपालको कर्मचारीतन्त्र नागरिकप्रति उत्तरदायी छैन भन्ने भनाईप्रति तपाईं कतिको सहमत हुनुहुन्छ? कर्मचारीतन्त्रलाई नागरिकप्रति उत्तरदायी बनाउन के गर्नुपर्ला?

शासकीय व्यवस्थाका लाभांशहरू नागरिक सामु पुर्‍याउने वैधानिक संयन्त्र कर्मचारीतन्त्र हो भने सार्वजनिक सरोकारका विषयमा आम नागरिकले उठाएका सवालहरूको जवाफ दिनु उत्तरदायित्व हो। राज्य प्रदत्त सेवा नागरिक सामु पुर्‍याउने जिम्मेवारी बोकेको यस्तो कर्मचारीतन्त्र नागरिकप्रति उत्तरदायी, सक्षम, व्यावसायिक, योग्यता प्रणालीमा आधारित र नवप्रवर्तनमुखी हुनु अपरिहार्य छ।

नेपालको कर्मचारीतन्त्र जनताप्रति उत्तरदायी छ वा छैन भन्ने विषयमा मेरो धारणा

नेपालको कर्मचारीतन्त्र नागरिकप्रति उत्तरदायी छैन भन्ने भनाईप्रति मेरो धारणा देहाय बमोजिम प्रस्तुत गरेको छु।

क. सहमतको पक्षमा

  • कर्मचारीतन्त्रका कतिपय मूल्यहरू पदसोपानमुखी संरचना, निर्वैयक्तिक, मूल्य तटस्थता, कार्यकुशलता आधुनिक लोकतान्त्रिक व्यवस्थाका मूल्य प्रतिकुल छन् जसले नागरिकप्रतिको उत्तरदायित्वलाई कमजोर बनाउँछ।
  • वर्तमान नेपालको संविधानमा पहिलो पटक जनउत्तरदायी सार्वजनिक प्रशासनको परिकल्पना गरिए तापनि यस पूर्वका कुनै पनि संविधानले जनउत्तरदायित्वलाई आत्मसात् गरेको थिएन। निजामती सेवा ऐनले समेत उत्तरदायित्वलाई समावेश गरेता पनि जनताप्रति उत्तरदायी हुने व्यवस्था प्रस्ट छैन।
  • जिम्मेवारीले उत्तरदायित्वको सिर्जना गर्दछ भने पारदर्शिताले यसको प्रवर्द्धन गर्दछ। तर नेपालको कर्मचारीतन्त्रमा कसको जिम्मेवारी के हुने भन्ने विषयमा स्पष्ट कार्य विवरण छैन भने पारदर्शी कार्य संस्कृतिको अभाव छ।
  • कर्मचारीतन्त्र Rule & Routine तथा Command & Control आधारित हुन्छ। जसले नतिजा केन्द्रित र जनमुखी भन्दा प्रक्रियालाई जोड दिन्छ। प्रत्यक्ष उत्तरदायी हुने नभई Loop Hole Modelको उत्तरदायी प्रणाली छ।
  • कर्मचारीतन्त्रले अनौपचारिक संरचना र सम्बन्धभन्दा औपचारिक संरचनालाई जोड दिन्छ, जसबाट शासकीय व्यवस्थामा नागरिकको सहज पहुँचमा बाधा सिर्जना गर्दछ।
  • कर्मचारीतन्त्रमा सेवक मुखी भन्दा शासकमुखी चरित्र हाबी छ, जसले नागरिक समस्याप्रति कर्मचारीतन्त्र संवेदनशील हुन सकेको छैन।
  • कर्मचारीतन्त्रमा कार्यगत स्वायत्तताको अभाव छ। सेवाको बजारीकरण गर्न सकिएको छैन। नागरिकहरूमा सचेतनाको अभाव छ। कर्मचारीहरूमा सेवा प्रवाह गर्दा अतिरिक्त लाभको आस छ। प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिन सकिएको छैन। जसले कर्मचारीतन्त्र नागरिकप्रति उत्तरदायी हुने गरेको छैन।
  • उत्तरदायित्व प्रवर्द्धनका मञ्चहरू सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण कानुनमा सिमित छ।

ख. असहमतको पक्षमा

  • पछिल्लो समय जनउत्तरदायित्वको विषयमा व्यापक बहस हुन थालेको छ । वर्तमान कानुनहरूमा जनता प्रति उत्तरदायी हुनुपर्ने विषयलाई समेट्न थालिएको छ । जसले क्रमशः नागरिकप्रति उत्तरदायी बनाउँदै लगेको छ।
  • नागरिक बडापत्र, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, हेलो सरकार जस्ता उत्तरदायी मञ्चहरूको व्यवस्था गरिएको छ।
  • सूचना अधिकारी, गुनासो पेटिका, गुनासो सुन्ने अधिकारी, गुनासो सुनुवाइ समितिको व्यवस्था गरिएको छ।
  • विभिन्न सूचना Apps तथा Website हरूको निर्माण एवं स्वतः Disclosure पद्धतिले नागरिकको जान्न पाउने अधिकारलाई सुनिश्चितता प्रदान गरिएको छ।
  • उपभोक्ता समिति, सामुदायिक बन विकास कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम जस्ता नागरिक संलग्नताका कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन्।

कर्मचारीतन्त्रलाई नागरिकप्रति उत्तरदायी बनाउन के गर्ने?

  • कर्मचारीतन्त्रलाई नागरिकप्रति उत्तरदायी बनाउन देहायका उपायहरू अवलम्बन गर्नु जरुरी देखिन्छ।
  • जिम्मेवारीले उत्तरदायित्वको सिर्जना गर्ने र पारदर्शिताले यसको प्रवर्द्धन गर्ने भएकोले जिम्मेवारी, पारदर्शिता र उत्तरदायित्वलाई सँगसँगै लैजानुपर्दछ।
  • कार्य विवरणको अनिवार्य व्यवस्था गरी मापनयोग्य कार्यसम्पादन सूचकको विकास गर्ने र कार्यसम्पादनलाई दण्ड पुरस्कारसँग तादात्म्यता कायम गर्नुपर्दछ।
  • सेवा प्रवाहको ढाँचा निर्माण, संरचना र प्रक्रियामा सेवाग्राही जनताको संलग्नतालाई नागरिक परामर्श समिति, सेवाग्राही परिषद्, सल्लाहकार मण्डल, नीति समुदाय० सुनिश्चितता प्रदान गर्नुपर्दछ।
  • नागरिक प्रतिवेदन, पृष्ठपोषण सङ्कलन, मूल्याङ्कन तथा त्यसको कार्यान्वयनमा जोड दिनुपर्दछ।
  • सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, कार्यसम्पादन सम्झौता जस्ता औजारहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ।
  • नागरिक सचेतीकरण मार्फत खबरदारी, सेवाको बजारीकरण मार्फत सेवा प्रवाहमा सहजीकरण तथा कार्यसम्पादनमा कर्मचारीलाई कार्यगत स्वायत्तता प्रदान गर्ने।
  • खोजमूलक पत्रकारिता, खुला सूचना प्रणाली तथा पारदर्शी कार्य संस्कृतिको अवलम्बनमा जोड दिने।
  • उत्तरदायित्वका नवीनतम विधिहरू प्रत्यक्ष उत्तरदायित्व, नतिजामूलक उत्तरदायित्व, सामूहिक उत्तरदायित्वमा जोड दिने।
  • सेवा प्रवाहमा सूचना प्रविधिको महत्तम उपयोग गरी एकद्धार कार्य प्रणाली अवलम्बन गर्ने।

निष्कर्ष

संविधान, लोकतन्त्र र नागरिकप्रति उत्तरदायी कर्मचारीतन्त्र सुशासन प्राप्तिको आधार हो। नेपालको कर्मचारीतन्त्र पूर्ण रूपमा जनताप्रति उत्तरदायी हुन नसकेको गुनासोहरू सुनिने गरेको सन्दर्भमा राजनैतिक प्रतिबद्धता, कर्मचारीतन्त्रमा व्यवसायिकता, सुस्पष्ट जिम्मेवारी र मापदण्ड, पारदर्शी कार्य संस्कृति तथा शासकीय प्रणालीमा नागरिकको सार्थक सहभागिताको अभिवृद्धि गर्दै अगाडि बढ्नु अपरिहार्य छ।

Post a Comment

0 Comments