Advertisement

नेपाल समाचारपत्र विषयगत, ९ पुष २०८०

१. संस्थाको अपेक्षित उद्देश्य हासिल गर्न कर्मचारीलाई तालिमको के महत्व रहेको छ? तालिमसँग सम्बन्धित रहेका समस्या पहिचान गर्दै समाधानका उपाय प्रस्तुत गर्नुहोस्।

पृष्ठभूमि
  • आफूले गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने निश्चित सीप वा प्रविधि सिक्ने प्रक्रिया नै तालिम हो।
  • कर्मचारीलाई कामप्रति उत्प्रेरित गराउने महत्त्वपूर्ण साधनका रूपमा समेत तालिमलाई लिइन्छ।
तालिमको महत्व
  • कर्मचारीको ज्ञान, सीप र दक्षता वृद्धि गर्न
  • जनशक्तिमा पेशा र संस्थाप्रति सकारात्मक सोचको विकास गर्न
  • संगठनको कार्यसम्पादनमा सुधार ल्याउन
  • तालिमको अभावका कारण हुन सक्ने जोखिम तथा त्रुटिलाई न्यूनीकरण गर्न
  • कर्मचारीलाई थप जिम्मेवारी बहन गर्न सक्षम बनाउन
  • कर्मचारीको प्रतिस्पर्धात्मक क्षमता विकास गराउन
  • परिवर्तनलाई आत्मसाथ गर्न सक्ने क्षमता विकास गराउन
  • कर्मचारीको मान-सम्मान र महत्त्व वृद्धि गराउन 
  • कार्यसम्पादन विचलनलाई सुधार गर्न
  • कर्मचारीको बढुवामा तालिमबापतको अंक प्रदान गर्ने हुनाले बढुवाका लागि आधार तय गर्न।
तालिम सँग सम्बन्धित समस्याहरु
  • आवश्यकतामा आधारित हुन नसकेको
  • तालिमका अवसर अत्यन्तै न्यून रहेको
  • व्यवस्थापकका निकट रहनेले मात्र तालिमका अवसर पाउने गरेको
  • तालिमका लागि अत्यन्तै न्यून बजेट विनियोजन गरिने
  • तालिमको पाठ्यक्रम सैद्धान्तिक प्रकृतिको रहेको
  • तालिम औपचारिकतामा सीमित रहने गरेको
  • तालिमपश्चात् प्रभाव मूल्यांकनको कुनै परिपाटि नभएको
  • विकट क्षेत्रमा काम गर्ने कर्मचारी अवसरबाट वञ्चित रहने गरेको
  • दाताहरुले सञ्चालन गर्ने तालिमहरु कार्यालयको आवश्यकतामा भन्दा पनि दाताको स्वार्थबाट प्रेरित भएको
  • तालिम दिने संस्थाको संस्थागत क्षमता विकास गर्नमा ध्यान नदिइएको
  • तालिमका लागि योग्य तथा दक्ष प्रशिक्षक एवं स्रोतव्यक्तिको अभाव रहेको
  • कार्य केन्द्रित समस्यामूलक भन्दा पनि सबैलाई मिल्ने किसिमको पाठ्यक्रम निर्माण गरिएको।
समस्या समाधानका उपायहरु
  • तालिमको आवश्यकता पहिचान गर्ने परिपाटीमा सुधार गर्ने
  • तालिमका लागि उपयुक्त कमर्चारीलाई मनोनयन गर्नुपर्ने
  • उपयुक्त कर्मचारीलाई उपयुक्त तालिमका लागि मनोनयन गर्ने
  • तालिमका अवसर सबैलाई न्यायोचित तवरले वितरण गर्ने
  • तालिममा विनियोजन गरिने बजेटलाई जनशक्तिको क्षमता विकासमा गरिएको लगानीको रूपमा लिनुपर्ने
  • तालिमका निश्चित लक्ष्य तथा उद्देश्य निर्धारण गर्नुपर्ने
  • तालिमका उद्देश्य पूरा भए नभएको सम्बन्धमा तालिमको प्रभाव मूल्यांकन गरिनुपर्ने
  • तालिमको पाठ्यक्रम विधिमा समायानुकूल परिवर्तन गर्दै सैद्धान्तिक र व्यावहारिक पक्षको उचित सम्मिश्रण गरिनुपर्ने
  • प्रशिक्षकको क्षमता विकासमा जोड दिनुपर्ने
  • तालिम प्रदायक संस्थालाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने
  • विशिष्टकृत तालिमको व्यवस्था गर्नुपर्ने
  • तालिमका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने
  • दाता सञ्चालित तालिमलाई संस्थाको आवश्यकतामा आधारित बनाउन पहल गर्ने।
निष्कर्ष
कुनै पनि संगठनका महत्वपूर्ण सम्पत्तिका रूपमा रहने मानव संसाधनमा निहित विद्यमान ज्ञान, सीप, क्षमता र दक्षतामा अभिवृद्धि गरी उनीहरुमा धारणात्मक एवं व्यावहारिक परिवर्तन, कार्यशैलीमा सुधार र कार्यसम्पादन सुधार ल्याउने औजारका रूपमा रहेको तालिमलाई वैज्ञानिक र व्यवस्थित बनाउन जरुरी रहेको छ।
२. कुन अवस्थामा दुवै सदनको संयुक्त बैठकमा विधेयक पेस गर्ने गरिन्छ? संयुक्त बैठकबाट विधेयक पारित गर्ने विधिको चर्चा गर्नुहोस्।
पृष्ठभूमि
  • अर्थ विधेयकबाहेक संघीय संसद्को कुनै पनि सदनमा विधेयक प्रस्तुत गर्न सकिने
  • संघीय संसद्को एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाइने र सो सदनले समेत पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिने
  • कुनै पनि विधेयक संघीय संसद्का दुवै सदनले पारित गर्नुपर्ने भएकाले कतिपय अवस्थामा संयुक्त बैठकमा समेत विधेयक पेस गर्नुपर्ने अवस्था सिर्जना हुने।
संयुक्त बैठकमा विधेयक पेस गरिने अवस्था 
  • राष्ट्रिय सभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको,
  • प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रिय सभामा फिर्ता पठाएको तर राष्ट्रिय सभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको।
विधेयक पारित गर्न अवलम्बन गरिने विधि
  • संयुक्त बैठकमा विधेयक पेस गर्नुपर्ने भएमा महासचिवले विधेयक प्रस्तुत हुने मिति र समय खुलाई राष्ट्रिय सभा वा प्रतिनिधिसभाको सन्देश कम्तीमा एक दिन अगावै संघीय संसद्का सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने
  • संयुक्त बैठक प्रारम्भ भएपछि सभामुखले विधेयक प्रस्तुतकर्ता सदस्यलाई विधेयकको सम्बन्धमा स्पष्ट गर्नका लागि वक्तव्य दिन समय दिने
  • वक्तव्य दिएपछि प्रस्तुतकर्ता सदस्यले देहायको कुनै एक प्रस्ताव पेस गर्नुपर्ने
    • "विधेयक उत्पत्ति भएको सदनले पारित गरेका रूपमा विधेयकमाथि विचार गरियोस्"
    • "विधेयक उत्पत्ति भएको सदनले पारित गरेको विधेयकमाथि जनताको प्रतिक्रिया प्राप्त गर्न प्रयास गरियोस्"
  • विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि संशोधन पेस गर्नका लागि ७२ घण्टाको समय दिइने
  • प्रतिनिधिसभाले गरेको संसोधनमा राष्ट्रिय सभा सहमत नभएको विधेयकका हकमा प्रतिनिधिसभाले गरेको संशोधनका विषयमा सीमित रही संसोधन पेस गर्न सकिने
  • प्रतिनिधिसभाले अस्वीकार गरेको विधेयकमा नयाँ संसोधन पेस गर्न सकिने
  • संशोधन प्रस्तुतकर्ता सदस्यले संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिने
  • संशोधनमाथि छलफल समाप्त भएपछि छलफलमा उठेका प्रश्नहरुको विधेयक प्रस्तुतकर्ता सदस्यले जवाफ दिने
  • संशोधनमाथिको जवाफ समाप्त भएपछि संशोधन प्रस्तुतकर्ता सदस्यलाई आफ्नो संसोधन फिर्ता लिन समय दिइने
  • संशोधन प्रस्तुतकर्ता सदस्यले संशोधन फिर्ता नलिएमा उक्त संशोधन संयुक्त बैठकमा निर्णयार्थ प्रस्तुत गरिने 
  • विधेयकलाई संयुक्त बैठकमा निर्णयार्थ प्रस्तुत गरिने
  • संयुक्त बैठकबाट पारित भएको विधेयकमा अध्यक्षले आवश्यक देखेमा विधेयकका दफाको संख्याको क्रम मिलाउन, आवश्यक आनुसङ्गिक सुधार गर्न र अनायास हुन गएका त्रुटिहरु सच्याउन सक्ने
  • आनुसङ्गिक सुधार भइसकेपछि विधेयक अध्यक्षले प्रमाणित गर्ने
  • प्रमाणित विधेयक संविधानबमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने
  • राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सभामुखले र राष्ट्रिय सभाले अध्यक्षले सोको सूचना पढेर सुनाउने
  • अधिवेशन चालू नभएको अवस्थामा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना सूचनापत्रमा प्रकाशित गरिने
  • प्रतिनिधिसभा विघटन भएमा वा कार्यकाल समाप्त भएमा संयुक्त बैठकमा प्रस्तुत हुने अवस्थाको विधेयक वा संयुक्त बैठकमा प्रस्तुत भएको तर पारित भई नसेकेको विधेयक निस्क्रिय हुने।
निष्कर्ष
संघीय संसद्का दुवै सदनहरु कानुन निर्माणका लागि उत्तिकै जिम्मेवार रहेका हुन्छन्। दुवै सदनबाट पारित भएको अवस्थामा मात्र कानुन निर्माण प्रक्रियाले सार्थकता पाउने अवस्था रहन्छ। दुवै सदनमा एकरूपता र समान बुझाई नभएको अवस्थामा संयुक्त बैठकको माध्यमबाट कानुन निर्माण प्रक्रियालाई पूर्णता दिने गरिन्छ।
३. नेपालको संविधानमा विश्वासको मत र अविश्वासको प्रस्तावको सम्बन्धमा गरिएको व्यवस्था स्पष्ट पार्नुहोस्। 
पृष्ठभूमि
अविश्वास प्रस्ताव संसदीय प्रक्रियामा विपक्षीद्वारा तथा कतिपय अवस्थामा सरकारलाई समर्थन दिएको दलबाट नै सरकारलाई गिराउने वा कमजोर गर्ने उद्देश्यले संसदमा पेस गरिने एक संसदीय प्रस्ताव हो। यस प्रस्तावलाई एक नयाँ संसदीय मतदानद्वारा पारित वा अस्वीकृत गरिन्छ।
विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी संवैधानिक व्यवस्था
  • प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने,
  • देहायका अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने:-
  • प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा
  • सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा
  • प्रतिनिधिसभामा पेस भएको प्रस्ताव तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने 
  • प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने
  • प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेस गर्न नसकिने
  • अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनुपर्ने
  • अविश्वासको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री पदमुक्त हुने
  • अविश्वासको प्रस्ताव पारित भई प्रधानमन्त्रीको पद रिक्त भएमा अविश्वासको प्रस्तावमा प्रस्ताव गरिएको प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले धारा ७६ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने।
निष्कर्ष
संसदीय व्यवस्थामा प्रधानमन्त्रीको चयन र पदमुक्त संसद्ले गर्ने भएकाले प्रधानमन्त्रीले सदैव संसद्को विश्वास प्राप्त गर्न तथा बहुमत कायम राखिराख्न सक्नुपर्दछ।
४. नेतृत्वका शैली, सिद्धान्त र कुशल नेतृत्वमा हुनुपर्ने गुणहरू के-के हुन्? संगठनको उद्देश्य प्राप्तिका लागि नेतृत्व क्षमताको महत्व एवं भूमिका दर्शाउँदै नेतृत्व क्षमताको विकास गर्न आवश्यक उपायहरु प्रस्तुत गर्नुहोस्।
अनुयायी वा सदस्यको स्वीकार्यता
पृष्ठभूमि
  • सामूहिक उद्देश्य प्राप्तिका लागि अनुयायीहरुलाई प्रभावमा पार्न सक्ने क्षमता, सीप, गुण तथा कलालाई नेतृत्व भनिन्छ।
  • संगठनात्मक लक्ष्य हासिल गर्नका लागि समूहलाई उत्प्रेरित गर्ने, मार्गनिर्देश गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने, सञ्चार गर्ने तथा सदस्यहरुलाई प्रभाव पार्न सक्ने भिजन, मिसन एवं दृष्टिकोणसहितको गुण एवं क्षमता नै नेतृत्व हो।
  • संगठनको सफलता, असफलता वा प्रभावकारितालाई प्रभाव पार्ने विभिन्न तत्वमध्ये नेतृत्व सर्वोपरी स्थानमा रहेको हुन्छ।
नेतृत्वका शैलीहरु
  • निरंकुश तथा कुलीनतन्त्रीय नेतृत्व शैलीः शक्ति आफैंमा केन्द्रित गर्न चाहने, नियन्त्रणमुखि, निर्देशनमुखि, निणर्यको केन्द्रीकरणमा जोड दिने नेतृत्व शैली
  • प्रजातान्त्रिक वा सहभागितामूलक नेतृत्व शैलीः निर्णय निर्माणमा सहभागिता, विचारको सम्मान, समूहबाट राय सल्लाह लिने, अन्तरक्रियामा जोड दिने नेतृत्व शैली
  • स्वतन्त्र, खुला वा उदार नेतृत्व शैलीः अनुयायीलाई काम गर्न पूर्ण स्वतन्त्रता प्रदान गर्ने, स्वनियन्त्रण तथा स्व उत्प्रेरणा, स्वव्यवस्थापनमा जोड दिने नेतृत्व शैली
  • नोकरशाही नेतृत्व शैलीः नियम कानुनको अधिनस्थ भई नेतृत्व गर्ने तथा कानुनले दिएको अधिकारको प्रयोग गरेर नेतृत्व गर्ने शैली
  • प्रभावी नेतृत्व शैलीः आफूमा निहित विशेष गुण तथा क्षमताका कारण प्रभाव पार्ने शैली
  • विशेषज्ञ नेतृत्व शैलीः नेतृत्वमा निहित प्राविधिक तथा विशेषज्ञ क्षमताको कारण अधिनस्थलाई निर्देशन वा नियन्त्रण गर्न सक्ने क्षमतामा आधारित नेतृत्व शैली हो।
  • स्नेहवादी नेतृत्व शैलीः नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गरी मातहत तथा अनुयायीलाई परिचालन गर्ने शैली।
नेतृत्वका सिद्धान्तहरु
  • परिवर्तनशील नेतृत्व सिद्धान्त (जेम्स बर्नले प्रतिपादन गरेको)
  • महान व्यक्ति सिद्धान्त
  • व्यवहारवादी सिद्धान्त
  • अवस्थावादी सिद्धान्त
कुशल नेतृत्वमा हुनुपर्ने गुणहरु
  • प्रभावशाली व्यक्तित्व
  • धैर्यता र सहनशीलता
  • विषयवस्तुको ज्ञान
  • निष्ठा
  • इमानदारिता
  • विश्वास
  • चाहना एवं जिज्ञासा
  • जोखिम वहन क्षमता
  • समर्पण
  • प्रभावकारी सञ्चार
  • उचित, न्यायपूर्ण र विवेकशील निर्णय गर्ने क्षमता
  • रचनात्मक सोच
  • परिपक्वता र आत्मविश्वास
  • उत्तरदायित्व बहन
  • खुला विचार र अरूको सम्मान
  • काम र संगठनप्रति आस्था
  • सदाचारिता र नैतिकता
  • स्वार्थ विहीनता
  • समस्या समाधानको कौशलता
  • अग्रगामी र परिवर्तनशील सोच
  • नयाँ कुराको आरम्भ गर्न सक्ने
  • जोखिम बहन गर्ने क्षमता।
नेतृत्व क्षमताको महत्व
  • संस्थाका निर्धारित एवं अपेक्षित उद्देश्य हासिल हुने
  • संस्थामा उचित कार्य वातावरणको निर्माण हुने
  • उत्पादकत्व र कार्य गुणस्तरमा सुधार हुने
  • कर्मचारीहरु कामप्रति उत्प्रेरित हुने
  • आर्थिक, मानवीय तथा भौतिक स्रोतको समुचित व्यवस्थापन र परिचालन हुने
  • गुटबन्दीको अन्त्य हुने
  • अनिर्णयको कारणले संस्थामा क्षति नहुने
  • संस्थाका सदस्यहरुमा आत्मविश्वास सिर्जना गर्न र
  • मनोबल बढाउन सक्ने
  • समस्याको रचनात्मक समाधान गर्न सकिने
  • योजनावद्ध तरिकाले कार्यसम्पादन हुने
  • संस्थाको जनशक्ति परिचालन गर्न सहज हुने
  • संस्थाका सदस्यहरुमा संस्थाप्रति अपनत्वको भावना विकास हुने
  • मातहतका कर्मचारीहरुले अभिभाकत्वको महसुस गरी कामप्रति उत्प्रेरित हुने।
नेतृत्व क्षमताको विकास गर्न आवश्यक उपायहरु
  • समालोचनात्मक ढंगबाट सोच्ने क्षमताको विकास गर्ने
  • अध्ययनको दायरा फराकिलो बनाउने
  • टोलीभित्र कार्यप्रति उत्साहित बनाउने
  • समय व्यवस्थापन तथा तनाव व्यवस्थापनमा जोड दिने
  • प्राप्त हुन सक्ने, आकर्षक लक्ष्य र दुरदृष्टि निर्माण गर्ने
  • सूचना प्रवाहमा चुस्तता ल्याउने
  • सन्तुलित कार्य विभाजन गर्ने
  • कार्यसम्पादनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने
  • समन्वयकारी तथा सन्तुलित छविको निर्माण गर्ने
  • उत्कृष्ट रूपमा कार्यसम्पादनका उपायहरुको खोजी गर्ने
  • प्रयत्न र उपलब्धिहरुको सम्मान गर्ने
  • टोलीलाई सशक्त बनाउने
  • सहयोगी र समर्थकहरुको विश्वास जित्न कोशिस गर्ने।
निष्कर्ष
नेतृत्वले दुरदृष्टि निर्माण गर्ने, अरूलाई त्यसँग सम्बन्धित क्रियाकलापमा संलग्न हुन प्रेरित गर्ने, अरुलाई ज्ञान र सीप उपलब्ध गराई सशक्तीकरण गरी इच्छित प्राप्त गर्न सक्ने भएकाले संस्थाको विकासमा नेतृत्व क्षमताको महत्वपूर्ण भूमिका रहन्छ।

Post a Comment

0 Comments